FAQs Complain Problems

News

आर्थिक वर्ष २०७४/०७५ का लागि नगर सभावाट पारित वार्षिक नगर विकास योजना

आर्थिक वर्ष २०७४/०७५ को नगर विकास योजना सम्पुर्ण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।।

 

प्रमुखको कलमवाट

 

 सर्वप्रथम समृद्ध नगर निर्माणका लागि विश्वास साथ हामीलाई निर्वाचित गराउनुहुने सम्पूर्ण नगरवासी दिदीवहिनी, दाजुभाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । लोकतान्त्रिक गणतान्त्रिक शासन ब्यवस्था स्थापनार्थ ज्ञात-अज्ञात अमर शहिदहरु प्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै घाइते, अङ्गभङ्ग र वेपत्ता भएकाहरु प्रति सम्मान ब्यक्त गर्न चाहन्छु ।

 

कुश्मा नगरपालिकाले प्रचलित कानूनको परिधिभित्र रही सहभागितात्मक योजना तर्जुमा प्रकृयालाई अवलम्वन  गर्दै नगर विकास योजना तर्जुमा  गरी प्रकाशन गर्न लागेको छ । राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनता द्धारा पटक पटक हुँदै आएका जनआन्दोलनहरुको परिणाम स्वरुप प्राप्त नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था अन्तर्गत रही स्थानीय सरकारको रुपमा कुश्मा नगरपालिकाले पहिलो पटक ऐतिहासिक नगरसभा सम्पन्न गरेको छ ।

 

कुश्मा नगरपालिकाले आफ्नो नगरको योजना तर्जुमा गर्ने सन्दर्भमा आर्थिक समानता र समृद्धि, सामाजिक न्याय, लैङ्गीक विभेदको अन्त्य समानुपातिक र समावेशी विकासको अवधारणालाई आत्मसाथ गर्दै "स्थानीय सरकार सञ्चालन ऐन 2074" तथा अन्य प्रचलित कानूनले निर्दिष्ट गरेका वस्ति, वडा तथा नगरपालिकास्तरमा योजना तर्जुमाका चरणहरुलाई ब्यवस्थित तवरले परिचालन गर्ने प्रयास गरिएको छ । नगरपालिकामा उपलब्ध हुन सक्ने सिमित श्रोत र साधनलाई अधिकतम समन्वयात्मक ढंगवाट स्थानीय आवश्यकतालाई सम्वोधन गर्ने हर सम्भव प्रयत्‍न यस बार्षिक योजनामा गरिएको छ । यस कार्यमा गैर सरकारी संस्थाहरु नागरीक समाज, वुद्धिजीवि, नीजि क्षेत्र समेतको सक्रिय सहभागिता रहेको छ ।

 

बार्षिक नगर विकास योजना तर्जुमा गर्न अहोरात्र खट्नुहुने नगर उपप्रमुख, वडा अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु तथा नगर सभाका सदस्यहरु धन्यवादका पात्र हुनुहुन्छ । त्यसैगरी बार्षिक बजेट, नीति तथा कार्यक्रमलाई ब्यवस्थित गरी कितावको रुपमा प्रकाशन गर्न सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत लगायत कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु ।

 

अन्त्यमा,

यस कुश्मा नगरको वार्षिक योजनाको प्रभावकारी कार्यान्वयनको लागि नगरवासीहरुको सहयोग र सुझावको अपेक्षा राख्दछु ।

 

धन्यवाद् ।।।

आर्थिक वर्ष २०७४/०७५ को नगर विकास योजना सम्पुर्ण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।।

 

 

 

लोकतान्त्रिक गणतन्त्र नेपालको पुनरसंरचनापछिको पहिलो कुश्मा नगरपालिकाको नगरसभामा

आ.व.२०७४/०७५ का लागि प्रस्तुत

नीति तथा कार्यक्रम

 

सर्वप्रथम यस गरिमामय सभामा राष्ट्रहित लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि आफ्नो जीवन उत्सर्ग गर्ने नेपाल आमाका सन्तति वीर सहिदहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै यस महान अभियानमा अमूल्य योगदान गर्ने सम्पुर्ण दाजुभाई तथा दिदीवहिनी प्रति सम्मान प्रकट गर्दछु ।

राज्य हाल पुनर्संरचना भई अगाडी वढिरहेको अवस्थामा नेपालको संविधानको समुल कार्यान्वयन मार्फत जनताले चाहेको सामाजिक, आर्थिक रुपान्तरण गर्ने चुनौति हाम्रो सामु नेपालको इतिहासमै पहिलो पटक स्थानीय सरकारको चुनाव सम्पन्न भै कुश्मा नगरवासीहरुको अमुल्य मतदान मार्फत यस नगरको विकास र समृद्धिको जिम्मा हाम्रो काँधमा आएको छ । यो अत्यन्तै महत्वपुर्ण र संवेदनशिल वोझ प्रति हामी त्यत्तिकै जिम्मेवार र संवेदनशिल वनी नगरवासीका इच्छा, आकाँक्षा र आवश्यकताको सम्वोधन गर्नु वाहेक अरु कुनै विकल्प हाम्रो सामु छैन भन्ने कुरामा हामी गम्भिर भएका छौ ।

हामी समृद्ध आधुनिक र न्यायपुर्ण कुश्मा नगर वनाउने अभियानमा जुट्नु परेको छ र अहिले त्यसैको संघारमा छौँ । सम्पुर्ण नगरवासीले हाम्रा भावी योजना कार्यक्रम तथा हाम्रा गतिविधिलाई कौतुहलताका साथ हेरिरहेको अवस्था छ ।

यसै सन्दर्भमा पञ्चासेको शिखर हाम्रो शानदेखि कालिगण्डकी सम्म अवस्थित धार्मिक तथा ऐतिहासिक सभ्यता रहेको भौगोलिक, सामाजिक, साँस्कृतिक विविधता सहितका सम्पदाहरुको संरक्षण र विकास गर्दै जानुपरेको छ ।

नगरका समग्र समस्या, चुनौति र सम्भावनालाई दृष्टिगत गरी Bottom Up Approach मा सहभागितामुलक योजना तर्जुमा गर्ने प्रयास गरिएको छ ।

अध्यक्षज्यू,

स्थानीय तह सञ्चालन तथा योजना तर्जुमा सम्बन्धी थुप्रै ऐन नियमहरुको तर्जुमा नभैसकेको बर्तमान अवस्थामा हामीले नगरपरिषदको लागि वडा भेलाबाट निर्णय भई आएका योजनाहरुलाई पहिलो प्राथमिकताको सूचिमा समावेश गरी बजेट विनियोजन गर्ने प्रक्रियाको थालनी गरेका छौं । नयाँ स्थानीय तह तथा निर्वाचित जनप्रतिनिधिहरुका कारण  योजना तर्जुमा प्रक्रियाप्रति जनताको विश्वास वढेको हामीले महशुस गरेका छौं । नगर विकास योजना निर्माण गर्दा बालबालिका, अल्पसंख्यक, दलित, महिला, जनजाति आदिलाई केन्द्रविन्दु मानी नेपाल सरकारबाट समय समयमा जारी गरिएका मार्गनिर्देशन, नेपालको संविधान २०७२, नेपालको पञ्चवर्षिय योजनाको अवधारणपत्र, विद्यमान स्थानीय तहसम्बन्धी कार्यविधिहरु, विपन्नता स्तरीकरण मापन सर्वेक्षण, जिल्ला पाश्र्वचित्र एवं स्रोत नक्शा, क्षेत्रगत रणनैतिक योजनाहरु, दातृनिकायसँग भएका सम्झौताहरु आदिलाई आधार बनाइएका छौं । त्यसैगरी निर्वाचित जनप्रतिनिधिहरुको समन्वय तथा सहमतीलाई प्रमुख आधार बनाइ उपलव्ध स्रोत साधनका आधारमा वातावरणीय संरक्षणको साथै दिगो र सन्तुलित विकासको लागि भौगोलिक, क्षेत्रगत, समावेशी विकासको अवधारणालाई अवलम्वन गरिएको छ ।

यस सुन्दर नगरीको समग्र तथा समानुपातिक विकासको लागि प्राप्त स्रोतलाई एकीकृत गरी सबै वर्ग र क्षेत्रमा विशेष गरी गरीब, महिला, बालबालिका, सामाजिक एवं आर्थिक दृष्टिकोणवाट पिछडिएका वर्ग र समुदाय एवं क्षेत्रको पहुँच र स्वामित्व रहने गरी स्रोत साधनको परिचालन गर्दै सन्तुलित र समान तवरवाट सहज र सरलरुपमा सेवा सुविधा उपलव्ध गराउन एवं त्यस्तो सेवा सुविधालाई मितव्ययी, सहभागितामूलक, पारदर्शी, उत्तरदायी, समावेशी, न्यायोचित, दिगो र गुणस्तरयुक्त बनाउँदैै गरीवी न्यूनीकरण र दिगो विकासका लागि परिचालन गर्न राजनैतिक समझदारी, गैरसरकारी संस्था तथा नीजिक्षेत्रसँगको सम्वन्धलाई घनिभूत बनाउने प्रयाश गरिएको छ, । विकास साझेदार निकायहरुवीचको यो मिलनविन्दुलाई हामीले यस नगरको विकासको लागि अवशरका रुपमा लिएका छौं । नगर विकास योजना तर्जुमा गर्दा यस क्षेत्रमा रहेका प्राकृतिक स्रोत साधनको समुचित उपयोग गरी दिगो तथा वातावरणमैत्री विकास गर्नको लागि समावेशी तथा अधिकारमा आधारित दृष्टिकोणलाई आत्मसाथ गर्दै सम्पन्न गर्न सकिने, निरन्तरता दिन सकिने, सम्पन्न गर्नुपर्ने तथा समृद्ध नगर निर्माण कार्यमा सहयोग पुग्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्नका लागि देहाय बमोजिमका नीति तथा कार्यनीतिहरु यस सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहन्छु ।

कृषि तथा पशु तर्फः

  • आर्थिक विकासको प्रमुख आधारको रुपमा रहेको कृषिमा नगरलाई आत्मनिर्भर वनाउने उद्येश्यका साथ कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धि, ब्यवसायिकरण र वजारिकरणमा जोड दिइनेछ । यसका लागि संभाब्यताका आधारमा प्रत्येक वडाहरुलाई एक एक वटा उत्पादनमा पकेट क्षेत्रको रुपमा विकास गर्दै लगिने छ ।
  • कृषिको उत्पादकत्व वृद्धिका लागि सिँचाई, उन्नत प्रविधिको प्रयोग, कृषि सामाग्रीको आपुर्ति, कृषि सडक, विद्युत तथा कृषि विज्ञको सेवामा कृषकको पहुँच वृद्धि गर्दै कृषकहरुको जीवनस्तरमा सुधार ल्याउने प्रकृतिका कार्यक्रमहरु सञ्चालनमा जोड दिइनेछ ।
  • खेतीयोग्य जमिनको संरक्षण गर्दै कृषि उत्पादनका लागि उपयोग गर्नमा जोड दिइनेछ ।
  • प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई थप ब्यवस्थित रुपमा संचालन गरिनेछ
  • साना किसानहरुको लगानीको लागि समूहमा आधारित सहयोग कार्यक्रममा जोड दिइनेछ ।
  • कृषिमा आधारित रोजगारी सृजना गर्ने वातावरण तयार गर्दै नगर भित्र प्राप्त रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।
  • नश्लसुधार सहितको ब्यवसायिक पशु तथा पंक्षी (गाई, भैंसी, वाख्रा, कुखुरा, हाँस) पालनमा विशेष जोड दिई दुध तथा मासुमा नगरपालिकालाई आत्मनिर्भर वनाउन जोड दिइनेछ ।
  • स्वस्थ, आधुनिक र प्रविधियुक्त वधस्थलको स्थापना गरि मासु पसललाई थप ब्यवस्थित गरिनेछ ।
  • खेती योग्य जमिन तथा वस्ती नजिक रहेका र हटाउनुपर्ने भएका रुख विरुवा हटाउन पहल गरिनेछ ।
  • अनुत्पादक पशु संकलन केन्द्र तथा गिद्ध संरक्षण केन्द्र स्थापनाको प्रयास अगाडी वढाईनेछ ।
  • सडक आसपासमा संचालित वंगुरपालनलाई ब्यवस्थित गरिनेछ ।
  • लाइसेन्स नलिई मदिरा विक्री वितरण गर्ने कार्यलाई नियन्त्रण गरिनेछ ।

 

पुर्वाधार विकास तर्फः

  • सवै वडाहरुमा हाल सञ्चालनमा रहेका सडकहरुलाई वाह्रै महिना सञ्चालनमा ल्याउने गरि स्तरोन्नती गरिनेछ ।
  • वस्ती विकास, शहरी योजना तथा भवन निर्माण मापदण्ड, २०७२ (संसोधन सहित) को पुर्ण पालनामा जोड दिइनेछ ।
  • सडक, खानेपानी, सिँचाई, फोहोर ब्यवस्थापनलाई योजनावद्ध रुपमा अगाडि वढाईने छ र यसको लागि योजना वैंकको निर्माणमा जोड दिइनेछ ।
  • सवै वडामा भरपर्दो विद्युत सेवा पुर्‍याउन पहल गरिनेछ र काठका पोलहरुलाई फलामे पोल द्धारा विस्थापित गर्दै लगिनेछ ।
  • सौर्य उर्जाको प्रयोगमा जोड दिँदै सौर्य सडक वत्ति विस्तार गर्दै लगिनेछ ।
  • प्रमुख वजार क्षेत्रलाई ब्यवस्थित ढल तथा फराकीला वाटा सहितको वजार क्षेत्रको रुपमा विकास गर्दै लगिनेछ ।
  • नगरका प्रमुख सडकहरुको DPR तयार गरि योजनावद्ध रुपमा सडक निर्माण कार्यलाई अगाडि वढाईनेछ ।
  • नगर स्तरिय सडकलाई कम्तिमा २ लेनको वनाईनेछ ।
  • विभिन्न कोषहरुको स्थापना गरि आगामी आर्थिक वर्ष हरुमा थप ब्यवस्थित गर्दै लगिनेछ ।

खानेपानी तर्फः

  • नगरका विभिन्न क्षेत्रमा रहेका पानीका स्रोतहरुको संरक्षण एवं संकलन गरि नगरका सवै वडाहरुमा एक घर एक धारा प्रणाली अवलम्वन गर्दै लगिनेछ ।

 

 

पर्यटन तर्फः

  • नगर क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा साँस्कृतिक सम्पदाको पहिचान संरक्षण र विकासमा जोड दिइनेछ ।
  • धार्मिक, सामाजिक, साँस्कृतिक, साहसिक पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिँदै अग्ला तथा लामा झोलुङ्गे पुलहरुको जिल्लाको रुपमा चिनाउन ब्यापक प्रचार प्रसार गरिनेछ ।
  • मोदीवेनी धाम, पञ्चासे, दुर्लुङ्गकोट, गुप्तेश्वर गुफा, अलपेश्वर गुफा, पार्वती गुफा, सहस्रधारा, खौलाकोट, जुम्लिठान देवास्थान वाटुलेचौर, ठुलिपोखरी, लालेश्वर गुफा, पाङ्ग ततरकोट लगायतका क्षेत्रहरुको विकास गर्दै धार्मिक पर्यटनलाई प्रवर्द्धन गरिनेछ ।
  • प्यारा ग्लाइडिङ, वञ्जिजम्पिङ, र्‍याफ्टिङ जस्ता क्षेत्रमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्दै लगिनेछ ।
  • सामाजिक साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्न होमस्टे, पर्यटकीय पदमार्ग, साँस्कृतिक कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ ।

आन्तरिक आय वृद्धि तर्फः

  • करका क्षेत्रहरुको पहिचान गरि कराधार फराकिलो वनाइनेछ ।
  • एकिकृत सम्पत्तिकरलाई प्रमुख करका रुपमा ब्यवस्थित गर्दै लगिनेछ ।
  • कर संकलन प्रक्रियालाई करदाता मैत्री वनाउन निजी क्षेत्र सँगको समन्वय तथा सहकार्यमा जोड दिइनेछ ।
  • ब्यवस्थित रुपमा राजश्व संकलन गर्न संस्थागत रुपमा विकास गरिनेछ ।

वन तथा वातावरण र स्वास्थ्य तर्फः

  • भुक्षय तथा वाढी पहिरोको जोखिममा रहेका भुभागमा वृक्षारोपण तथा तटवन्ध निर्माणमा जोड दिइनेछ ।
  • हरित सडकको अवधारणाको अवलम्वन गरिनेछ ।
  • पुर्वाधार विकास गर्दा कम मात्र वातावरणिय क्षति हुने गरि आवश्यक ब्यवस्था मिलाइनेछ ।
  • नगरको फोहोर तथा ल्यान्डफीड साइट ब्यवस्थापनलाई थप ब्यवस्थित वनाउने उचित प्रकृया अवलम्वन गरि निजी क्षेत्रलाई आब्हान गरिनेछ । अन्ततः फोहोरलाई मोहोरमा वदल्ने तर्फ अगाडि वढिनेछ ।
  • प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्दै लगिनेछ ।
  • आधारभुत स्वास्थ्य सेवामा सवैको पहुँच कायम गर्न प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई आवश्यक उपकरण तथा औषधि उपलब्ध गराई थप ब्यवस्थित गराइनेछ भने अस्पताललाई आधुनिक र सुविधा सम्पन्न वनाउन पहल गरिनेछ ।
  • विपद् ब्यवस्थापनका लागि सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी लगायतका निकायहरु सँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
  • शुद्ध र सफा मासुको विक्री वितरणलाई ब्यवस्थित गरिनेछ ।

 

 

उद्योग तर्फः

  • घरेलु तथा साना उद्योगको विकासमा जोड दिँदै निश्चित क्षेत्रमा निश्चित उद्योगहरु स्थापनालाई प्रोत्साहित गरिनेछ ।
  • न्युन आय स्तर भएका नगरवासीलाई स्थानीय स्रोत साधनमा आधारित उद्यमी वनाई आर्थिक रुपमा सक्षम वनाउन आवश्यक सीप विकास तथा अनुदान समेतमा जोड दिइनेछ ।

शिक्षा तर्फः

  • प्रत्येक विद्यालयमा पुस्तकालय, खानेपानी तथा शौचालय (छात्र छात्रा मैत्री) को उचित ब्यवस्थामा जोड दिइनेछ ।
  • नगरमा विद्यमान लैंगिक, जातिय, धार्मिक, वर्गिय तथा क्षेत्रिय विभेदलाई अन्त्य गर्दै ब्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपुर्वक वाँच्न पाउने हकको सुनिश्चितताका लागि कार्यक्रमहरु अगाडी वढाइनेछ ।
  • शैक्षिक गुणस्तर सुधारका लागि थप अध्ययन एवं छलफल गरि सुधारको पहल गरिनेछ ।
  • नगर शिक्षा नीति, शिक्षा ऐन तथा संस्थागत ब्यवस्था मार्फत ब्यवस्थित शिक्षा प्रणालीको विकासमा जोड दिइनेछ ।
  • विद्यार्थी संख्या, भुगोल र दुरीका आधारमा विद्यालयलाई एकिकृत MERGE गर्दै लगिनेछ ।
  • विद्यालय शिक्षालाई अंग्रेजी माध्यममा संचालन गर्दै लगिनेछ ।

संस्थागत विकास तथा सेवा प्रवाह तर्फः

  • सेवा प्रदायकहरुलाई सेवाग्राही प्रति उत्तरदायी वनाइनेछ । यसको लागि आचरण तथा अनुशासन पालनामा जोड दिइनेछ ।
  • कार्य सम्पादनमा जोड दिँदै जिम्मेवार शाखा प्रमुखहरु सँग कार्य सम्पादन करार समेत गरिनेछ ।
  • संगठन तथा ब्यवस्थापन सर्वेक्षणका आधारमा उपयुक्त संगठन संरचना तयार पारिनेछ ।
  • कर्मचारीहरुलाई कार्यविवरण दिई परिचालित गरिनेछ ।
  • आवश्यक कानूनको तर्जुमा गरि कार्यान्वयनमा ल्याइनेछ ।
  • सामाजिक सुरक्षा भत्ता वितरणलाई वैंकिङ प्रणाली मार्फत सहज रुपमा समयमै वितरण गर्न आवश्यक ब्यवस्था मिलाइनेछ ।
  • नगर क्षेत्र भित्रका सार्वजनिक जग्गाको उचित संरक्षणको ब्यवस्था गरिनेछ ।

सुचना तथा सञ्चार तर्फः

  • सवै वडा कार्यालयमा टेलिफोन तथा इन्टरनेट सुविधाको आवश्यक ब्यवस्था मिलाई Online सेवाको शुरुवात गरिनेछ ।
  • नगरवासीको सुचनाको हक प्रति नगर सदा जिम्मेवार रहनेछ र स्थानीय सञ्चार माध्यम मार्फत नगरका गतिविधिहरु उचित रुपमा सार्वजनिक गरिनेछ ।

अन्यः

  • सामुदायिक विकासका कार्यक्रममा सामाजिक परिचालनमा जोड दिइनेछ ।
  • "स्वस्थ नगरको लागि खेलकुद" भन्ने नाराका साथ युवा तथा खेलकुदको क्षेत्रमा खेलकुद विकास  समिति सँग सहकार्य गर्दै अगाडी वढिनेछ । खेलकुद पुर्वाधार, तालिम तथा खेलकुद प्रतियोगितालाई ब्यवस्थित वनाउँदै लगिने छ ।
  • लैंगिक समानता, सामाजिक सशक्तिकरण र समावेशीकरणमा जोड दिँदै नगरमा पछाडी रहेका / परेका सम्पुर्ण वर्ग र क्षेत्रलाई नगर विकासको मुल प्रवाहमा समेटिनेछ र यसका लागि उपयुक्त योजना तथा कार्यक्रमरु कार्यान्वयनमा ल्याइने छ ।
  • वालमैत्री स्थानीय शासन सहितको नगरको रुपमा विकास गर्दै लगिने छ र यसको लागि नीजि तथा गैर सरकारी संस्थाहरुको सहयोग समेत परिचालन गरिनेछ ।
  • राष्ट्रिय/अन्तराष्ट्रिय रुपमा भगीनी सम्वन्ध कायम गरी विकास निर्माणको कार्य अगाडी वढाइनेछ ।

अन्त्यमा,

प्रस्तुत् नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि यहाँहरुको निरन्तर सहयोगको अपेक्षाका साथ पुनः सबैमा हार्दिक आभार प्रकट गर्दै यो प्रस्तुतिको विट मार्ने अनुमती चाहान्छु । धन्यवाद्

 

आर्थिक वर्ष २०७४/०७५ को नगर विकास योजना सम्पुर्ण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।।