हिजो मिति २०७३ साल भदौ ९ गते कुश्मा नगरपालिका वडा नं. ७ को वडा नागरिक मञ्च पुनर्गठन गर्नका लागि बोलाइएको वडा भेलामा कुश्मा नगरपालिका वडा नं. ७ निवासी काफलचौर उच्च मा.वि. का शिक्षक श्री धन गिरीले नगरपालिकाका कर्मचारीहरुलाई हात हालेको घटना एवं घटनालाई अतिरञ्जित बनाउने उद्देश्यले सुचना केन्द्र डट कम नामक अनलाइन पत्रिकाले कुश्मा नगरपालिकाका हाकिम चण्डिका पौडेललाई स्थानीयले पिटे प्रहरी भन्छ अनुसन्धान हुँदैछ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको प्रति कुश्मा नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । शिक्षक जस्तो सम्मानित पेशामा आवद्ध भएको व्यक्तिले यो हदसम्मको निच हर्कत देखाउनु गम्भीर सामाजिक अपराध हो । कानुनको शासनको वर्खिलाप सामाजिक अराजकता ल्याउन खोज्ने जोकोहीलाई कानुनको दायरामा ल्याई सजायको भागीदार बनाउन कुश्मा नगरपालिकाले कुनै कसर बाँकी राख्ने छैन ।
प्रस्तुत घटनालाई अतिरञ्जित बनाउने उद्देश्यले सुचना केन्द्र डट कम नामक अनलाइन पत्रिकाले कुश्मा नगरपालिकाका हाकिम चण्डिका पौडेललाई स्थानीयले पिटे प्रहरी भन्छ अनुसन्धान हुँदैछ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको घटना पनि अर्काे गम्भिर सामाजिक अपराध हो । एकाध व्यक्तिले गरेको आपराधिक क्रियाकलापलाई लिएर सबै स्थानीय जनतालाई मुछी बहुबचनको प्रयोग गर्दै स्थानीयले पिटे भनी समाचार प्रकाशन गर्नु निश्चय पनि निराधार, कपोलकल्पित र भ्रामक विषय हो । यो भ्रम फिँजाउन खोज्ने सुचना केन्द्र डट कम नामक अनलाइन पत्रिकालाई पनि प्रचलित कानुन बमोजिम सजायको भागीदार बनाउनुपर्ने देखिन्छ ।
आम नगरबासीले हामीलाई पिट्ने सम्मको हर्कत गर्ने कुरा हामी कल्पना सम्म पनि गर्न सक्दैनौ । कुश्मा नगरपालिकाबासी नागरिक र नगरपालिकाका कार्यकारी अधिकृत सहित सम्पूर्ण कर्मचारीहरुको सुमधुर सम्बन्ध रहेको छ । जनता र स्थानीय सरकारबीचको यो सुमधुर सम्बन्धलाई विचलित तुल्याउने अभिप्राय कोही कसैले राख्यो भने निश्चय पनि त्यो क्षमा योग्य हुन सक्ने छैन । आपराधिक क्रियाकलाप गर्ने जोकोहीलाई कुनै पनि बहानामा कसैले कारवाहीको दायराबाट उम्काउन खोज्नु हुँदैन । कानुनको शासन स्थापित गर्ने कुरामा कुश्मा नगरपालिका दृढ संकल्पित छ । सवै नगरबासीहरुको जय होस ।
...............
चण्डिका पौडेल
कार्यकारी अधिकृत